जात व्यवस्थाविरुद्धमा ऐतिहासिक फैसला

सोती हत्याकाण्डमा चलेको मुद्दामा  रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गरेको छ ।

आजभन्दा करिब ४२ महिनाअगाडि २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका– ४ का २१ वर्षीय नवराज विकले रुकुम सोती गाउँ घर भएकी कथित उपल्लो जात मल्ल थरकी युवतीलाई प्रेम विवाह गर्ने सिलसिलामा भगाउन खोज्दा नवराज विकलगायत उनका साथीहरु टीकाराम सुनार, गोविन्द शाही, सन्दीप विश्वकर्मा, गणेश बुढा र लोकेन्द्र शाहीको निर्मम हत्या गरिएको थियो । उनीहरुलाई चौरहजारी– ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर शाही समेतको नेतृत्वमा जम्मा भएको गाउँलेहरुको भीडले लखेटी लखेटी केहीलाई कुटपीट गरेर तथा केहीलाई जिउँदै हातखुट्टा बाँधेर भेरी नदीमा फालेर हत्या गरेका थिए । घटनामा नवराज पक्षका १२ जना घाइते पनि भएका थिए । उनीहरु भागेर आफ्नो ज्यान जोगाएका थिए ।

नवराज विक

उक्त हत्याकाण्डलाई दबाउन ठूलै राजनीतिक कसरत भएको थियो । नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले सदनमा उक्त हत्याकाण्डका बारे गुमराह गर्ने खालको बयान दिएको आरोप समेत लागेको थियो । त्यस घटनाका विरुद्ध देशव्यापी रुपमै विरोधका आवाजहरु पनि उठेका थिए ।

राष्ट्रिय रुपमा घटनाको विरोध चर्कदै गएपछि र जनदवाब बढ्दै गएपछि घटनामा संलग्न डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते मुद्दा दायर गरिएको थियो ।

सो हत्याकाण्डमा संलग्न भएकाहरुमध्ये २३ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । घटनामा मुछिएका प्रेमिका, उनकी आमा र भाइलाई अदालतले जातीय भेदभाव तथा छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवानाको सजाय समेत सुनाएको छ ।

अदालतको यो फैसला यस अर्थमा पनि ऐतिहासिक छ कि जातीय छुवाछुत र भेदभावबाट सिर्जित उक्त विभत्स हत्याकाण्डमा संलग्नहरुलाई यतिका ठूलो संख्यामा जन्मकैद सुनाएको यो घटना नेपालकै इतिहासमा पहिलो पटक हो । घटनालाई दबाउन भएको उच्चस्तरीय राजनीतिक चलखेल र दवाबका बाबजूद अदालतबाट आएको यस न्यायपूर्ण फैसलाले मुलुकमा राजनीतिक प्रभुत्वको आधारमा अपराधीहरुले उन्मुक्ति पाइहाल्ने गरी अवस्था बिग्रिनसकेको र विधिको शासनको सम्भावना जिउँदै रहेको कुरालाई प्रमाणित गरिदिएको छ । अदालतको यस फैसलाले छुवाछुत र जातव्यवस्थाविरुद्ध एउटा राम्रो नजिर पनि कायम गरिदिएको छ । यसबाट भविष्यमा यस किसिमका घटनाहरु हुन निरुत्साहन गर्ने, तथा त्यस्ता घटनाहरुलाई राजनीतिक आडभसोरामा दबाउने खोज्नेहरुलाई समेत राम्रो पाठ साबित हुने विश्वास जगाएको छ । रुकुम पश्चिम जिल्ला अदालतको यो ऐतिहासक फैसलाले अगामी दिनहरुमा यस्ता खालका घटनामा न्याय निरुपणका लागि समेत  मार्गप्रशस्त गर्ने निश्चित छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।