टिकटक प्रतिबन्धले थपेको भू-राजनीतिक सकस

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सरकारको त्यो कदम सही वा गलत भन्ने बहस नेपाली समाजमा राम्रैसँग चल्यो । सरकारी निर्णयविरुद्ध अदालतमा समेत प्रश्न उठ्यो । अन्ततः सरकारी निर्णयलाई नै समर्थन गर्ने खालको अदालती निर्णयपछि यसबारेको चर्चा सेलायो ।

त्यसै बेला सरकारको हठात् निर्णयबारे केही संवेदनशील विमर्श समेत भयो, विशेष गरी सचेत समुदाय र प्रबुद्ध व्यक्तिहरूबाट । नेपालको भू-राजनीतिक अवस्थित र यसका जटिलतालाई केहिहदसम्म आङ्कलन गर्न सक्ने कित्ताले उठान गरेको विषयको गम्भीरतालाई निर्णायक तहमा रहेका खासै कसैले चासो दिएनन् ।

बरु, आफू सत्तारुढ दल विशेषको खाट्टी कार्यकर्ता भएको प्रमाण पेश गर्ने उद्देश्यले यस्ता चिन्ताहरू माथि तल्लो तहमा उत्रिएर आलोचना गर्नेहरू भने प्रशस्तै देखियो ।  ‘टिकटकमाथिको प्रतिबन्ध: सरकारको 'झ्याल ढोका थुन्ने' मूर्खता !’ शीर्षकमा दायित्वबोधले प्रकाशित गरेको टिप्पणीप्रति  सामाजिक सञ्जालमा देखिएको आक्रामकता त्यस्तै एउटा प्रमाण नै समेत बनेको थियो ।

तर, प्रकारान्तरले त्यो चिन्ता सही भएको पुष्टि भएको छ किनकि नेपालले टिकटक माथि प्रतिबन्ध लगाउनुको खास कारण के हो ? भन्ने प्रश्न उत्तरी छिमेकी मुलुक चीनका राजदूतले हाम्रा प्रधानमन्त्री प्रचण्डलाई नै समेत सोधेको भन्ने समाचार सार्वजनिक हुन थालेका छन् । प्रधानमन्त्रीलाई नै नेपालले गरेको सो निर्णयबाट आफुहरु निराश भएको प्रष्ट भाषामा चीनले भनिसकेको  अवस्था  आफैँमा सहज होइन । यसो किन भनिएको हो भने चिनियाँ कम्पनी बाइट डान्सको यो उत्पादनलाई रणनीतिक ढङ्गले बन्द गर्ने पश्चिमा मुलुकहरूको इशारामा नेपाल सरकारले यस्तो निर्णय गरेको हुनुपर्छ भन्ने सोच्न चीन धेरै घोरिइरहनु पर्ने देखिँदैन । अहिले नेपाल सरकारका धेरै निर्णयहरू आफ्नो हित रक्षा गर्नेभन्दा पनि विदेशी शक्ति राष्ट्रलाई खुसी राख्नेमा केन्द्रित छन् भन्ने बग्रेल्ती प्रमाणहरू बजारमा छरपस्ट छन् ।

टिकटकमाथि पश्चिमा राष्ट्र र उसका इमानदार मतियारहरु कसरी खनिएका छन् भन्ने बुझ्न खासै गाह्रो छैन । पश्चिमा राष्ट्रहरूले टिकटकलाई चिनियाँ सरकारसँगको साँठगाँठ भएको कम्पनीको रुपमा समेत प्रक्षेपण गर्दै आइरहेको छ । यही बहाना र दोष दिँदै चीनसँगको व्यापार युद्धको क्रममा सबैभन्दा पहिले अमेरिकाले चीनका हुवावे कम्पनीपछि टिकटक कम्पनीलाई नै मुख्य रुपमा आफ्नो तारो बनाएको थियो । हाल अमेरिका लगायत केही पश्चिमा देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । केही समयअगाडि सीमा क्षेत्रमा चीन र भारतका सैनिकबिच झडप हुँदा केही भारतीय सैनिकहरूको मृत्यु भएपछि भारतले पनि प्रतिरोधात्मक  कदमस्वरुप थुप्रै चिनियाँ सफ्टवेयरमाथि प्रतिबन्ध लगाएको थियो, जसमा टिकटक पनि छ ।

नेपालमा पनि किन टिकटक नै सरकारको आँखामा पर्‍यो त ? यसको जवाफ सहज छैन । नत भू-राजनीतिक प्रसङ्ग र दृष्टान्त नजोडी नै यसबारे विश्लेषण गर्न सकिन्छ ।

त्यसैगरी नेपालमा टिकटक माथि प्रतिबन्ध लगाएको घटनालाई नियाल्न यसको प्रयोग खासमा के के कामहरूमा भइरहेको थियो ? यसले नेपालको सामाजिक, आर्थिक र राजनीतिक रुपमा पारिरहेको प्रभाव कस्तो थियो ? टिकटक मार्फत धार्मिक समूहहरूले के कस्तो मनोविज्ञान समाजमा प्रवाहित गरिरहेका थिए ? युवा र महिला वर्गको मनोविज्ञान कसरी पोखिएको थियो टिकटक मार्फत ? जस्ता कुरा हेर्नुपर्ने हुन्छ ।

त्यसैगरी, यसले प्रदान गरेका अवसर, सामुन्ने ल्याएका चुनौती, समाजमा पारेको प्रभाव, सरकारलाई पारेको असर, सरकारले आरोप लगाएको विकृतिको अंश कति थियो ? त्यो मापन गर्नु जरुरी हुन्छ ।

त्यसबाहेक, अन्यत्रको अभ्यास, यसरी प्रतिबन्ध लगाउँदाका  अन्तर्राष्ट्रिय प्रचलनको अध्ययन समेत अनिवार्य देखिन्छ । अनि, सबैभन्दा महत्त्वपूर्ण कुरा टिकटक प्रतिबन्ध लगाउँदा युट्युब, फेसबुक, ट्विटर लगायतका अमेरिकी सामाजिक एप्सलाई व्यापारिक दृष्टिले हुने लाभको अनुसन्धान पनि गर्नै पर्ने हुन्छ । त्यसमाथि थप, अमेरिकी सामाजिक एप्सले प्रशारित गरिरहेका सामग्रीहरुभन्दा भिन्न र आपत्तिजनक त्यस्ता के सामग्रीहरु टिकटकले प्रशारित गर्यो, जसलाई नियन्त्रित गर्ने वा अनुगमन गर्ने कुरा सरकारले असम्भव ठान्यो र सोझै प्रतिबन्धको डण्डा बजार्यो ? के सरकारले टिकटक बन्द गर्नका लागि दिएका तर्कहरु अरु सामाजिक सञ्जालहरुको हकमा चाहिँ लागू नहुने खालकै थिए वा छन्? यो पनि उधिन्नुपर्ने पाटो हो ।

टिकटक बन्दको प्रकरणलाई साँच्चिकै बुझ्ने हो भने किन टिकटक पछि अब सरकारको निशानामा रुसी एप्स टेलिग्राम नै पर्दैछ ? भन्ने कुराको अन्तर्य खोतल्नु थप जरुरी छ । समग्रमा, चीनले कूटनीतिक रुपमा नै चासो राख्ने गरी यो टिकटक प्रकरण गर्नुपर्ने बाध्यतामा प्रचण्ड सरकार किन पुग्यो भन्ने कुरा बुझ्न भू-राजनीतिक गठजोडलाई नियाल्नै पर्ने हुन्छ । प्रचण्ड सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने हठात निर्णय गर्नुको अन्तर्य खालि 'स्याल कराएको बेला कुखुरा हराएको जस्तो  मात्रै हो' भनेर ठान्नु अलि केटौले कुरा मात्रै हुनेछ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।