आफ्नै भाइहरुसँग विवाह गर्ने रानी क्लियोपाट्रा

सम्भवतः संसारका सबैभन्दा निन्दनीय व्यवहारमध्येका एक परिवारभित्रको विवाहवारी होला । आधुनिक सभ्य समाजमा सहोदय परिवारजनबीचको विवाह अनैतिक मात्रै हैन, कानूनी रुपमा समेत दण्डनीय मानिन्छ ।

तर प्राचीन इजिप्टमा यो व्यवहारलाई समाजले स्वीकारेको थियो । यो कुराको दृष्टान्त इजिप्टका प्रसिद्ध रानी क्लियोपाट्रा सातौंको जीवनकथामा मिल्छ ।

अलेक्जेण्डर द ग्रेट भनेर चिनिने विश्वविख्यात योद्धा राजाको निधनपछि इजिप्टमा क्लियोपाट्राले शासन गरेकी थिइन् । विचित्रको कुरा त के थियो भने उनले आफ्नै सहोदर भाइहरु टोलेमी तेह्रौं र टोलेमी चौधौंसँग विवाह गरेकी थिइन् । टोलेमी वंशका क्लियोपाट्राले त्यसरी सहोदर भाइहरुसँग विवाह गर्नुको कारण चाहिँ इजिप्टका तत्कालीन उच्च खलकहरुमा शाही खानदानका खलकहरुको रक्तशुद्धतासम्बन्धी अन्धविश्वास नै थियो । त्यसबेलाका मान्यताअनुसार शाही खलकले बाहिरियाहरुसँग विवाह गर्नु हुँदैनथियो ।

क्लियोपाट्राले पहिले भाइ टोलेमी तेह्रौंसँग विवाह गरेर इजिप्टमा संयुक्त शासन गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध शक्तिसंघर्षका कारण विद्वेषपूर्ण रह्यो । त्यहीकारण क्लियोपाट्राले इजिप्ट छाडेर भाग्नुसमेत परेको थियो । तर पछि रोमका सैनिक शासक जुलियस सिजरका मद्दतले क्लियोपाट्रा इजिष्ट फर्केर शासनसत्ता हातमा लिएकी थिइन् । जुलियस सिजर र क्लियोपाट्राबीचको सम्बन्ध राजनीतिकभन्दा परको थियो भनिन्छ ।

४४ विसीमा जुलियस सिजरको हत्या भएपछि क्लियोपाट्राले मार्क एन्थोनी नाम गरेका अर्का रोमन नेतासँग गठजोड गरे । यही समयकालमा क्लिोपाट्राले आफ्ना अर्का भाइ टोलेमी चौधौंसँग विवाह गरिसकेका थिए । टोलेमी क्लियोपाट्राका सहशासक त थिए तर उनको हैसियत औपचारिक मात्रै थियो ।

क्लियोपाट्रा समकालीन समाजकी अद्वितीय सुन्दरी थिइन् ।  फ्रान्सका गणितज्ञ पास्कलले भनेका छन्– क्लियोपाट्राको नाक अलिकति मात्रै छोटो हुन्थ्यो भने संसारकै नक्सा फरक हुने थियो । हुन पनि उनकै सुन्दरतामा मोहित भएका कारण थुप्रै शासक–युद्ध नायकहरुद्वारा त्यसबेला शिखरमा रहेको रोमन साम्राज्यमा थुप्रै उथलपुथलकारी युद्धहरु भएका थिए ।

Title Photo: https://cdn.mos.cms.futurecdn.net

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।