धर्मसापेक्षताको खिचडी पाक्न थालेको हाे ?
धर्मनिरपेक्षताको सवालमा राजतन्त्र जोडेर आएको जवाफले उब्जाएको प्रश्न

बिगतमा धर्म निरपेक्षतालाई स्वीकार गरेका विभिन्न नेताहरुबाट पछिल्ला दिनहरुमा व्यक्त अभिव्यक्तिहरु हेर्दा धर्मनिरपेक्षताका विरुद्धमा थुप्रै खिचडीहरु पाक्न थालेको आभास मिल्छ । जसको पछिल्लो उदाहरण बनेका छन्, नेपाली कांग्रेसका सभापति एवं पूर्वं प्रधानमन्त्री शेरबहादुर देउवा ।
उनले हालै धर्मनिपरेक्षताबारे पार्टीमा छलफल गर्न सकिने बताएका छन् । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनमा उनले उक्त कुरा बताएका हन् । उनको ‘धर्मनिरपेक्षताबारे छलफल गर्न सकिने तर संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि मान्य नहुने’ भनाइले यसबारे उनलाई पार्टीभित्र चर्को दवाब रहेको संकेत गरेको छ । त्यसो त नेपाली कांग्रेसभित्र देउवाको सत्तालाई बलियो चुनौती दिने शेखर कोइरालाहरु सो पार्टीभित्र धर्म सापेक्षताका पक्षधर भनेर चिनिने गरिन्छ ।
उता पश्चिम दौडाहामा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि राजतन्त्रभन्दा पहिलेदेखि नै नेपालीहरुले सनातन धर्म मान्ने गरेको र त्यसको रक्षाको लागि जनता सक्षम रहेको, अरु कोही नायकहरु नचाहिने कुरा व्यक्त गरिरहेका छन् ।
धर्मलाई ‘अफिम’को रुपमा मान्ने सिद्धान्तबाट दीक्षित प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणमा भएको धार्मिक तीर्थाटन अनि चीनको मानसरोबरको यात्राले गरेका संकेत पनि पृथक छैनन् । चर्को धार्मिक कर्मकाण्डसहित गरिने विभिन्न सरकारी शिलान्यासहरुमा प्रचण्डको सक्रिय सहभागिताले मुलुक अझै धर्म सापेक्ष नै पो छ कि भन्ने झल्को दिने गरेको छ ।
स्मरणीय के छ भने, यतिखेर छिमेकी मुलुक भारतमा हिन्दूत्वको पैरवी गर्ने भाजपाको शासन छ । हिन्दूत्वको संवेदनामा खेलेर भोट बटुल्न माहिर भाजपाले आगामी वर्षमा हुन गइरहेको आम चुनावमा पनि त्यही कुरालाई भजाउन अधिकतम कोशिश गर्ने पक्का छ । नेपालको सन्दर्भमा ‘ओपन सेक्रेट’ कुरा के हो भने भारतको रुचि र चाहनाबेगर नेपाली सत्तामा टिकिरहन जो कोहीलाई मुश्किल मात्रै हैन, लगभग असम्भव नै छ । यस अर्थमा पनि आगामी चुनावमा भाजपाले नेपाललाई विश्वको एक मात्र हिन्दू राष्ट्र घोषित गर्ने एजेण्डालाई समेत अघि सार्ने सम्भावना देखिन्छ ।
त्यसै पनि भाजपाका थुप्रै महारथीहरुले यस विषयलाई बेलाबेलामा ‘टक अफ द टाउन’ बनाउँदै आएका छन् । त्यस्तो स्थितिमा नेपालले ‘गणतन्त्रको रक्षा’ को नाममा हिन्दूत्वको एजेण्डालाई स्वीकारेर मुलुकलाई धर्मसापेक्षतिर लैजाने उपक्रम थालियो भने त्यो कुनै आश्चर्यको कुरा हुने छैन ।
अहिले केही हिन्दूत्ववादीहरु बढ्दो हल्लीखल्ली अलिक धेरै नै उत्साहित भएको भने देखिएको छ । उनीहरु ‘हिन्दू गणतन्त्र’ हैन, ‘हिन्दू अधिराज्य नै हुनुपर्छ’ भन्ने खालका मागहरुलाई उठाउने र हिन्दुत्वसँगै राजतन्त्र समेत फर्काउने कोशिसमा लागिरहेका छन् । त्यसैलाई सम्बोधन गर्ने क्रममा देउवाले ‘धर्म निरपेक्षताका विषयमा मात्र छलफल गर्न सकिने’ तर राजतन्त्रका बारेमा कुरा नगर्ने भनेका हुन् ।
स्वयम् राजावादीहरुले नै समेत ‘राजतन्त्र अहिले नै फर्कने सम्भावना नरहेको’ विश्लेषण आफ्नो आन्तरिक कोटरीमा गरिरहेका बेला धर्म निरपेक्षताको सन्दर्भमा कुरा गर्दा राजतन्त्रलाई समेत जोडेर ‘गणतन्त्रवादी’हरु नै कतै राजतन्त्रको सम्भावित पुनर्स्थापनाको विजारोपण त गरिरहेका छैनन् ? बिषय विचारणीय छ ।

क्रान्तिको अवसान र माओवादीको मौन आत्मसमर्पण

ओली प्रवृत्ति र सत्ताको प्रतिशोध

यातायातको हड्ताल कि कानुनको धज्जी?

प्रधानमन्त्रीको खतरनाक अभिव्यक्ति !

सादा जीवन, उच्च आदर्श: होसे "पेपे" मुहीकाको जीवन यात्राको अन्त्य

सार्वजनिक खपतका बोली !

शिक्षक आन्दोलनको अन्तर्य: कसरी हुन सक्छ यसले उठाएका मागहरुको सम्बोधन ?

प्रतिक्रिया