टिकटकमाथिको प्रतिबन्धः सरकारको 'झ्यालढोका थुन्ने' मुर्खता !

चीनको आधुनिकीकरणमा महत्वपूर्ण योगदान गर्ने देङ सियाओ पेङको एउटा चर्चित भनाइ छ– 'लामखुट्टे आयो भनेर झ्याल ढोका बन्द गर्ने होइन, जाली लगाउनु पर्छ ।'

देङको यो भनाइको ठूलो प्रतिकात्मक अर्थ छ । कुनै पनि कुरालाई निषेध गर्ने होइन कि त्यसलाई नियन्त्रण र अनुगमन गर्ने बाटो नै उत्तम विकल्प हो । तर हाम्रो सरकार भने लामखुट्टे आयो भनेर जाली लगाउने होइन, झ्याल ढोका नै ड्याम्म थुन्ने काम गर्दैछ ।

प्रसङ्ग टिकटकमाथिको प्रतिबन्धको हो । कात्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गर्नुमा चाहिँ ‘सामाजिक सद्भाव विगार्ने काम गरेको’ भन्ने आरोप छ ।

गर्नुपर्ने चाहिँ त्यस्ता 'सामाजिक सद्भाव बिगार्ने' पाेष्टहरुमाथि नियन्त्रण र त्यस्ता पाेष्ट गर्नेहरुलाई कानुनी कारवाही हाे तर सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएर झ्याल ढाेका थुन्ने मुर्खता गर्दैछ । याे भनेको शरीरको कुनै भागमा चोटपटक लाग्याे भने त्यो चाेटलाई उपचार गर्ने हैन कि पूरै शरीरलाई नै नष्ट गरिदिनुपर्छ, त्यसाे गरे 'न रहेगा बाँस, नबजेगा बाँसुरी' हुन्छ भन्ने जस्तै मुर्खतापूर्ण साेचको उपज हो ।

टिकटक सामाजिक सञ्जालहरुमध्येका एक प्रभावकारी माध्यम हो । पछिल्ला दिनहरुमा यो फेसबुक, ट्वीटर जस्ता प्रभावशाली सामाजिक सञ्जाललाई समेत उछिन्दै विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गइरहेको छ । यस माध्यमबाट मनोरञ्जन मात्रै हैन,  वस्तुको विज्ञापन गरेर व्यवसाय विस्तार गर्ने काममा समेत व्यापक उपयोग हुने गरेको देखिन्छ । त्यसमाथि थप, विचार, समाचार र जानकारीहरु सम्प्रेषण गर्ने सन्दर्भमा समेत यो तीब्र रुपमा विकसित हुँदै गरेको माध्यमको रुपमा देखापरेको छ । खासगरी, पश्चिमा प्रभुत्व रहेका सञ्चार माध्यमहरुले लुकाएका तथा तिनको नियन्त्रणमा रहेका सामाजिक सञ्जालहरुले अघोषित सेन्सरसीप गरेका समाचार, विचार र खबरहरु विश्वव्यापी रुपमा सम्प्रेषण गर्ने प्रभावशाली माध्यमको रुपमा टिकटकले आफूलाई स्थापित गर्दै लगेको छ । पश्चिमा सञ्चार माध्यम–सामाजिक सञ्जालहरुले ढाकछोप गर्ने गरेका खबर, विचारहरु निर्वाध रुपमा ट्वीटरमा आउँदा पश्चिमा राष्ट्रहरुको ‘मिस इन्फरमेसन, डिस इन्फरमेसन’ को जालो नराम्ररी च्यात्ने काम भइरहेको छ ।

पछिल्ला दिनहरुमा प्यालेष्टाइनमाथि इजरायलले गरेको बर्बर नरसंहारको खबरलाई पश्चिमा सञ्चारमाध्यमहरुले सेन्सर गरेर प्रकाशित गर्ने गरेका छन् । फेसबुक, ट्वीटरले त्यस्ता सामग्रीमाथि रोक नलगाए पनि त्यसको प्रचारप्रसारलाई नियन्त्रित गरेको छ । यस अवस्थामा, त्यहाँ भइरहेका नरसंहार र युद्धविभिषिकाका दारुण दृश्यहरु विश्वजनमानसमा पुर्याउन टिकटक बलियो माध्यम भएको छ । यस अर्थमा टिकटक पश्चिमा राष्ट्रहरुको लागि ठूलो टाउको दुखाइ बन्दै आइरहेको छ ।

त्यति मात्र हैन, टिकटकको उदय र बलियो विस्तारले पश्चिमाहरुको स्वार्थअनुसार चल्ने फेसबुक, युट्युवजस्ता माध्यमहरुको अस्तित्वमाथि नै चुनौती दिने स्थिति पैदा हुने खतरा बढेको थियो । यही कारण नै करोडौं सदस्य रहेको टिकटकामाथि अमेरिकामा प्रतिबन्ध लगाउनुपर्छ भनेर फेसबुक कम्पनी त खुलेरै विरोधमा उत्रिएको थियो र त्यसका लागि उसले अरबौं डलर खर्च गरेको खबरहरु पनि प्रकाशमा आएको थियो ।

स्मरणीय छ, टिकटकको मुख्य स्वामित्व बाइटडान्स कम्पनीमा छ । यो कम्पनीको मुख्य मालिक चिनियाँ नागरिक झाङ यिमिङ हुन् । उनी चीनका दोस्रो धनी व्यक्ति मानिन्छ । सन् २०२२ मा उनको व्यक्तिगत सम्पत्ति ५५ विलियन डलर रहेको थियो । यस अर्थमा पश्चिमा राष्ट्रहरुले टिकटकलाई चिनियाँ सरकारसँगको साँठगाँठ भएको कम्पनीको रुपमा समेत प्रक्षेपण गर्दै आइरहेको छ । यही बहाना र दोष दिँदै चीनसँगको व्यापार युद्धको क्रममा सबैभन्दा पहिले अमेरिकाले चीनका हुवावे कम्पनीपछि टिकटक कम्पनीलाई नै मुख्य रुपमा आफ्नो तारो बनाएको थियो । हाल अमेरिका लगायतक केही पश्चिमा देशहरुले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । केही समयअगाडि सीमाक्षेत्रमा चीन र भारतका सैनिकबीच झडप हुँदा केही भारतीय सैनिकहरुको मृत्यु भएपछि भारतले पनि प्रतिशोधात्मक  कदमस्वरुप थुप्रै चिनियाँ सफ्टवेयरमाथि प्रतिबन्ध लगाएको थियो, जसमा टिकटक पनि पर्छ ।

यतिखेर विश्वव्यापी रुपमा नेपालको छवि कुटनीतिक सन्तुलन गुमाएको र निरन्तर रुपमा अमेरिकी पोल्टोमा पस्दै गइरहेको मुलुकको रुपमा स्थापित हुँदैछ । विश्व रङ्गमञ्चमा नेपालको भूमिका र कुटनीतिक प्रभाव निक्कै कमजोर र फितलो बन्दै गइरहेको आलोचना कुटनीतिक वृत्तमै हुन थालेको निक्कै भइसकेको छ । अहिले विश्व भूराजनीति निक्कै जटील र संवेदनशील बन्दै गइरहेको स्थिति विद्यमान छ । यस अवस्थामा नेपालको कदम परराष्ट्र सम्बन्धलाई  विगार्नेतिर भन्दा पनि थप मजबूत बनाउनेतिर केन्द्रीत हुनुपर्ने हो । तर अहिले भारत र अमेरिका लगायत अन्य केही पश्चिमा मुलुकहरुको सिको गर्दै चीनविरुद्ध प्रहार  गर्न सबैभन्दा मुख्य रुपमा आक्रमणको तारो बनाइने टिकटक कम्पनीमाथि प्रतिबन्ध लगाउने नेपालको निर्णय आफैंमा उदेकलाग्दो र विस्मयकारी छ । नेपालको यस कदमले पक्कै पनि चीनसँगको सम्बन्धमा सकारात्मक स्थिति पैदा गर्ने छैन ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।