चीनको पहाडमा हुलाकी

मानिसको जीवनका सुख र दुःखहरु नै हाम्रा कथाका विषयहरु हुन् । जीवनमा आइपर्ने घटना र दुर्घटनाहरु नै जीवनको सुख र दुःखलाई व्यक्त गर्ने कथानकहरु हुन् । तिनै कथानकहरुलाई साहित्यमा लेखेर कथा भनिन्छ भने चलचित्रमा देखाएर कथा भनिन्छ । संसारका विभिन्न देशमा बनिरहेका चलचित्रहरुले दर्शकहरुलाई त्यही किसिमले जीवनका कथाहरु भनिरहेका छन् र भनिनै रहनेछन् । यसरी जीवनको कथा भन्दा काहीं एउटा सिङ्गो समाजको जीवनलाई कथाभित्र बुनेर भन्ने गरिन्छ भने काहिँ एउटा व्यक्ति वा परिवारको जीवनलाई भनिन्छ । तर समाज वा व्यक्तिको जीवनका सबै पक्षहरुलाई एउटै चलचित्र वा एउटै कथाद्वारा भनिंदैन । साहित्यमा त्यस्तो कथा भन्नु पर्यो भने ठूल्ठूला उपन्यासहरु लेखेर भनिन्छ भने चलचित्रद्वारा त्यस्तो कथा देखाउनु पर्यो भने लामा लामा टेलिश्रृंखलाहरु अथवा विशेष किसिमले ठूलो मेहनतका साथ बनाइएका लामा सिनेमाद्वारा भन्ने गरिन्छ । हामी अहिले जुन किसिमको सिनेमाको कुरा गरिरहेका छौं त्यस्ता सिनेमाहरुले व्यक्ति अथवा समाजको जीवनको एउटा पक्षलाई वा थुप्रै घटनाहरुमध्ये एउटा घटना वा दुर्घटनाको फेहरिस्तलाई कथा बनाएर देखाउने गर्छन् । त्यस्ता सिनेमाहरु सामान्यतः एक घण्टादेखि तीन घण्टासम्म लामो हुने गर्छन् । नेपाल र भारतमा बन्ने गरेका सिनेमाहरु दुई घण्टादेखि तीन घण्टासम्म लामा हुनेगरेका छन् । तर विश्वका अरु भागमा बन्ने धेरैजसो सिनेमाहरु डेढ घण्टादेखि दुई घण्टाभन्दा बढी हुने गर्दैनन् ।
‘पोस्टमेन इन द माउण्टेन्स’ अर्थात् ‘पहाडहरुमा हुलाकी’ शीर्षकको चिनियाँ चलचित्र चीनमा बनेका चलचित्रहरुमध्ये एउटा राम्रो चलचित्र हो । जम्मा नब्बे मिनेट (डेढ घण्टा) अवधिको यो चलचित्रले चीनको पहाडी इलाकामा हुलाकीको काम गर्ने एउटा परिवार र पहाडमा बसोबास गरिरहेका चिनियाँहरुको जीवनलाई एउटा घटनाभित्रबाट देखाउने काम गरेको छ ।
बर्षौंसम्म हुलाकीको काम गरिसकेको एउटा व्यक्तिले आफ्नो जागीरबाट अवकाश प्राप्त गरेपछि उसको ठाउँमा त्यही काम गर्ने जागीर पाएको छोरोलाई लिएर चीनका पहाड र पहाडी चिनियाँहरुसँग छोरोलाई चिनजान गराउँदै बाटो देखाउन गएको घटना नै यस चलचित्रको कथानक हो । शियाओ निङ फिल्म स्टुडियो र बेइजिङ्ग फिल्म स्टुडियोले संयुक्त रुपले निर्माण गरेको यो चलचित्रका निर्देशक हुन्– हुवा जियाङ्की । त्यस्तै, तेङ रुजुन, लिउ ये र झाओ शियुली यस चलचित्रका प्रमुख कलाकारहरु हुन्, जसले हुलाकी केटो र उसका बाउ आमाको भूमिकामा अभिनय गरेका छन् । ती सबै कलाकारहरुको अभिनय र कथाको छरितो तथा सरस प्रस्तुतिले यस फिल्मलाई दर्शकको मन र मस्तिष्क दुवै छुने खालको कलात्मक फिल्म बनाइदिएको छ ।
पहाडको हुलाकी र पहाडका गाउँलेहरुबीच रहेको भावपूर्ण र गहिरो सम्बन्धलाई यसमा राम्ररी देखाइएको छ । पहाडमा एउटी अन्धी हजूरआमालाई हुलाकी बाउले भेटेर काल्पनिक चिठ्ठी सुनाउने गरेको छ । त्यही काम अब ऊ छोरालाई गर्न लगाउँछ । बाउको सट्टामा हुलाकी भएर आएको छोरोले एउटा काल्पनिक चिठ्ठी पढेर एक्ली हजूरआमाको मनलाई शीतल पारिदिन्छ । कथाभित्रको यस दृश्यले एउटा हुलाकीको काम चिठ्ठी र पार्सलहरु बाँडेर फटाफट् बाटो लाग्नुमात्र होइन भन्ने बुझाउँछ । शहर गएका वा विदेशै पुगेका छोरानातीहरुलाई सम्झेर उनीहरुको समाचार कुरेर बसेका बूढा हजूरबा र हजूरआमाहरुलाई उनीहरुको मन राख्दिन पनि एउटा हुलाकीले सहयोगी भूमिका खेल्छ र खेल्नु पनि पर्छ भन्ने कुरा पनि त्यसले बुझाउँछ ।
फरक जीवन र संस्कृति भएको गाउँ, त्यहाँको लोकगीत र नाचगानका साथै सबै बाधा ब्यबधानहरुसँग सामना गरेर अवकाश प्राप्त हुलाकी बाउ र नयाँ नियुक्त हुलाकी छोरो अन्त्यमा घर फर्किन्छन् । बाटामा उनीहरुले चीसो पानीको पहाडी खोला तरेका छन् । खोलो तर्दाको दृश्य यस फिल्मको अर्को उल्लेखनीय दृश्य हो ।
बाटोमा खोलो आइपुगेपछि बाबुचाहिँ जुत्ता फुकालेर शुरुवालमाथि सार्न थाल्छ । त्यही बेला आफ्नो बुढो र कमजोर बाउप्रति छोरोमा पलाएको प्रेम दृश्यमा देखिन्छ । बा तपाईंलाई म खोलो तारिदिन्छु, तपाईं चीसो पानीमा नहेलिनोस् भनिदिन्छ छोरोले । छोरोको त्यस बचनले बाउ छोरोप्रति स्नेहशील र गर्वयुक्त भएको देखिन्छ । साथमा लागेको त्यस परिवारको प्यारो कुकुर खोलो तरेर पारि पुग्छ । त्यसपछि हुलाकको झोला बोकेको छोरा पानीमा हेलिन्छ र पारि पुग्छ । त्यसपछि ऊ फर्केर बाउलाई लिन आउँछ । पिठिउँमा बाउलाई बोकेर छोरोले खोला तरिरहेको बेला बाउले आफ्नो जवानीको दिन सम्झिन्छ । उसको सम्झनामा सानो छोरालाई उसले काँधमा बोकेर बजार डुलाएको दृश्य देखापर्छ । छोरोको पिठियुँमा बोकिएको बाउ अहिले आँखाभरि आँशु पार्छ र मेरो छोरो अब साँच्चि कै ठूलो भैसकेछ भन्ने ठम्याउँछ । छोरो त्यतिबेला हुर्केको ठानिन्छ, जतिबेला उसले आफ्नै बाउलाई बोक्न सक्ने हुन्छ भन्ने कुरा बाउलाई साँचो लाग्छ । यहाँनेरको दृश्यमा बाउ र छोरोबीचको स्नेह र आदरयुक्त सम्बन्धको उँचाई देखापर्छ । यस दृश्यले साँच्चिनै दर्शकको मन पगालिदिन्छ ।
फिल्ममा यस्ता प्रभावशाली र कारुणिक दृश्यहरु अरु पनि छन् । हुलाकी भएर पहाडको कठिन बाटोको यात्रा गरेपछि नयाँ हुलाकी भएको छोरालाई आफ्नो बाउप्रति भएको गुनासो पनि बेठीक रहेछ भन्ने थाहा हुन्छ । हुलाकको झोला बोकेर उसको बाउ घरबाट निस्कन्थ्यो र महिनौसम्म घर आइपुग्दैनथ्यो । त्यसैले घरमा आमासँग मात्रै बस्नुपरेको छोरोले बाउको माया आफूले चाहेको जति पाएको थिएन । हुलाकीको पेशामा यस्तै हुँदोरहेछ भन्ने कुरा आफैंले थाहा पाएपछि कहिल्यै बा भनेर नबोलाउने हुलाकी छोरोले बाउलाई बा भनेर बोलाउँछ र छोरोले आफूलाई बा भनेकोमा बाउ भित्रभित्रै दंग पर्छ, छोरोको मायाले अघाउँछ ।
हुलाकी बाउ छोराको सम्बन्धमात्र होइन, गाउँलेहरुको हुलाकीसँगको प्रमेपूर्ण सम्बन्ध पनि यस फिल्मको उल्लेखनीय पक्ष हो । नयाँ हुलाकी भएर आएको पुरानो हुलाकीको छोरोलाई हेर्न, उसलाई छुन र ऊसँग बोल्न एउटा गाउँमा गाउँलेहरु बालकदेखि बुढासम्म सबै जम्मा हुन्छन् । हुलाकी बाउ छोरा आफ्नो बाटो हिंडिसकेपछि पनि गाउँलेहरु उनीहरुलाई हात हल्लाएर बिदा गर्न परसम्म आउँछन् । मानिस मानिसबीचको सम्बन्धको मधुरता र गरिमालाई यसरी त्यस फिल्मले खुलस्त किसिमले देखाएको छ ।
निर्देशक हुओ जियाङकीले यस फिल्मलाई सुन्दर बनाउन आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरेजस्तो लाग्दछ । बाउ छोरा र पहाडी भूगोलको लामो चित्रणका बीच–बीचमा निकै छोटा छोटा अरु दृश्यहरुलाई फ्ल्यासब्याकको रुपमा देखाइएको छ । फ्ल्यासब्याकका ती सबै दृश्यहरु फिल्ममा भनिदै गरेको कथालाई अझ रोचक र गहिरो तुल्याउन कथाकै अंगको रुपमा प्रयोग गरिएका छन् । यसरी फ्ल्यासब्याकको सटिक प्रयोगले पनि निर्देशकको योग्यता र पटकथाको छरितोपनालाई प्रमाणित गरिदिएको छ ।
पहाडको एउटा उँचाइबाट कागजको हवाईजहाज बनाएर छोरोले उडाएको र त्यो कागजको हवाईजहाज उड्दै उड्दै र फन्को मार्दै पर–परसम्म मानिसका बस्तीहरुतिर पुगेर बिलाएको एउटा दृश्य पनि यस फिल्मको उल्लेखनीय दृश्य हो । यस दृश्यले पनि निर्देशकले यस फिल्मको कथालाई कति राम्ररी देखाउन सकेका छन् भन्ने सावित गरिदिन्छ । यस फिल्मको बारेमा अरु पनि थुप्रै भन्न सकिन्छ । तर त्यही फिल्म नै हेरेजस्तो त्यसबारे लेखेर बताउन सकिँदैन । यस कुराले पनि चलचित्र विधा आजको युगमा कत्तिको महत्वपूर्ण छ भन्ने स्पष्ट हुन्छ । तर यस विधाको महत्वलाई नेपालका चलचित्रकर्मीहरुमध्ये अधिकांशले ज्यादै सीमित पारिदिएका छन् । उनीहरुले चलचित्रलाई एकातिर भारतीय ढाँचामा सीमित गरेका छन् भने अर्कातिर चलचित्रलाई सस्तो मनोरंजनमात्र बनाइदिएका छन् । यो दुःख लाग्दो कुरा हो ।
चलचित्र एउटा गम्भीर विधा हो । यो सस्तो मनोरंजन होइन, सार्थक मनोरंजन हो । सार्थक मनोरंजन भनेको चलचित्र हेर्ने दर्शकहरुलाई समाज वा व्यक्तिको जीवनका सत्य कुराहरुबाट प्राप्त हुने ज्ञानयुक्त मनोरंजन हो । तर जतिसुकै लेखेर र बोलेर यस कुरालाई अथ्र्याउन खोज्दा पनि हाम्रा अधिकांश निर्माता, निर्देशकहरु त्यसलाई वास्ता गर्दैनन् । त्यसैले सयमा उनान्सय नेपाली चलचित्रहरु स्तरहीन भइरहेका छन् । ‘पहाडमा हुलाकी’ नाउँको चिनियाँ चलचित्रले एउटा असल, सार्थक मनोरंजन प्रदान गर्ने चलचित्र यस्तो हुन्छ भनेर दर्शकलाई प्रष्ट पारिदिन्छ । त्यसैले हाम्रा युवाहरुलाई साक्षी राखेर अन्त्यमा म के भन्छु भने, सरकार र यहाँका चलचित्रकर्मीहरुले भारतीय हिन्दी फिल्ममात्र होइन, चीनलगायत अरु देशका चलचित्रहरु पनि हेर्न पाइने वातावरणसमेत तयार पार्नुपर्छ र ती चलचित्रहरु पनि यहाँ चल्न सक्ने अवस्था बनाएर तिनीहरुबाट राम्रा कुराहरु सिक्न सक्नुपर्छ ।
नवयुवा मासिकबाट

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

प्रतिक्रिया