के हात्तीले पनि मृत्युसंस्कार गर्छ ?

 

प्रियजन वा आफन्तहरु, हामीले चिनेजानेकाहरुको मृत्युले हामीलाई दुःखित तुल्याउँछ । शोकाकुल बनाउँछ । मृत्युको घटना वा खबरले हामीलाई पीडा हुन्छ । उनीहरुको वियोगले हामीलाई पीडाको अनुभूति हुने गर्छ ।

हामी मृतकको शवयात्रा वा दाहसंस्कारमा सामेल हुन्छौं । उनको विछोडमा दुःख प्रकट गर्छौं र अन्तिम यात्रामा सहभागी भएर उनीप्रतिको प्रेम, सम्मान र सदभावलाई प्रकट गर्ने गर्छौं । अझ मृतक हाम्रा नातेदार नै पर्छन् भने त निश्चित दिनहरुसम्म आशौच पनि बार्ने गर्छौं ।

मृत्युप्रतिको हाम्रो यो क्रिया–प्रतिक्रिया हामी सामाजिक प्राणी हौं भन्ने कुराको द्योतक हो । यसले हाम्रो चेतनास्तरको विकसित स्वरुपलाई पनि प्रतिविम्बित गर्ने गर्छ ।

त्यसो त मृत्यु संस्कार गर्ने प्राणीमा मानिस मात्रै पर्दैन । कतिपय जनावरहरुको व्यवहारले देखाउँछ – उनीहरु पनि मृत्युमा मानिसजस्तै संवेदनशील र शोकाकूल हुने गर्छ । उनीहरुले पनि मृत्युपछि केही त्यस्ता व्यवहारहरुहरु देखाउने गर्छन्, जसलाई हामी मृत्यु संस्कारको संज्ञा दिन सक्छौं ।

त्यसरी मृत्यु संस्कारको व्यवहार देखाउने जनावहरुको सूचीमा हात्ती अग्रपंक्तिमा आउँछ ।

हात्ती अत्यन्तै बुद्धिमान र सामाजिक प्राणीहरुमध्येका एक हो जसले विभिन्न खालका जटील व्यवहारहरु प्रदर्शित गर्ने गर्छ । त्यस्ता व्यवहारमा ‘मृत्यु संस्कार’ पनि पर्दछ । हात्तीले मानिसले जस्तै जटील र व्यवस्थित खालको मृत्यु संस्कार त गर्दैन तर आफ्ना सदस्यको निधनमा तिनीहरुले देखाउने वा प्रदर्शित गर्ने निश्चित खालका व्यवहारले हात्तमिा पनि मृत्युबारेको संवेदनशीलता र जागरुकता हुने गरेका र आफ्ना परिवारका सदस्यको निधनप्रतिको प्रतिक्रियालाई देखाउने गर्छ ।

Photo: https://allyouneedisbiology.files.wordpress.com

हात्तीले आफ्नो परिवारका कुनै पनि सदस्यको निधन हुँदा प्रदर्शित गर्ने व्यवहारहरु मोटामोटी निम्नानुसारका छन्:

शोक प्रकटः बथानको कुनै पनि हात्ती मर्दा त्यसका अन्य जीवित सदस्यहरु मृत शरीरको वरिपरि वृत्ताकार वा अर्धवृत्ताकार स्वरुपमा जम्मा हुने गर्छ । उनीहरुले आलोपालो गरेर मृत शरीरलाई सुँढले छुने, उसको दाह्रा, सुँढ र कानलाई विस्तारै मुसार्ने, कान नजिकमा निम्नआवृत्तिमा लगातार आवाज निकाल्ने जस्ता कामहरु गर्छन् । अध्येताहरुले यो प्रकृयालाई हात्तीले मृतकप्रति प्रकट गरेको श्रद्धा र शोकको रुपमा लिने गर्छन् ।

निगरानी: हात्तीले मृत शरीरका साथ घण्टौं, कतिपय अवस्थामा त कैयौं दिनहरु बिताउने गर्छन् । उनीहरुले आलोपालो मृत शरीरको पहरेदारी गर्ने, त्यसलाई छुने, मुसार्ने जस्ता काम गर्छन् । एउटा निश्चित समयसम्म हात्तीले यो प्रक्रिया दोहोर्याउने गर्छन् । यसलाई बथानको सदस्यको मृत्युले उत्पन्न क्षतिप्रति उनीहरुको गहिरो भावनात्मक बोधका रुपमा समेत लिने गरिन्छ ।

होशियारीपूर्वक अस्थी सम्हाल्नेः कतिपय सन्दर्भमा हात्तीको बथानले मृतकको गलिसकेको शवबाट हड्डीका अवशेष तथा दाह्राहरुलाई सावधानीपूर्वक उठाउने गरेको पनि देखिएको छ । हात्तीको यो व्यवहारले आफ्ना बथानका सदस्यप्रतिको उनीहरुको लगाव, प्रेम र सद्भावको रुपमा लिने गरिन्छ ।

सुँघ्ने र निरीक्षण गर्ने: बथानका कुनै हात्ती मरेपछि अरु हात्तीले मृतकलाई सुँघ्ने र निरीक्षण गर्ने गरेको पाइन्छ । उनीहरुले आफ्नो सुँढले मृतकको शरीरमा छुने, मुखमा सुँढ लाने जस्ता कामहरु गर्ने गर्छन् । अध्येताहरुले यसलार्य हात्तीले मृतक हात्तीको अवस्था र पहिचान थाहा पाउन त्यसो गरेको हुन सक्ने बताउँछन् ।

कतिपय अवस्थामा त हात्तीले मृतकको शरीरलाई पात, हाँगाहरु वा माटोले छोप्ने प्रयत्न गरेको पनि पाइन्छ । यस्तो गर्नुको ठोस कारण त यही हो भनेर भन्न सकिन्न तर त्यसलाई हात्तीको सांकेतिक व्यवहारको रुपमा लिने गरिन्छ ।

ख्याल गर्नुपर्ने कुरा के हो भने सबै हात्तीहरुले त्यस्तै किसिमको व्यवहार देखाउँछ भन्ने होइन । यो अफ्रिकाका हात्तीहरुमा अध्ययेताहरुले गरेको अध्ययन–निरीक्षणमा देखिएका कुरा हुन् । खासगरी, सिन्थिया जे मोस र जोसे एच. पुलेले १९८३ मा केन्याको एम्बोसेली नेशनल पार्कमा गरेको अध्ययनमा हात्तीले मृतकप्रति गरेको माथि उल्लिखित व्यवहारहरु फेला पारेका थिए । हात्तीका त्यस किसिमको बारेमा प्रसिद्ध हात्ती संरक्षणविद् इयाइन डगलस हामिल्टनले पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । सन् १९९१ मा प्रकाशित उनको पुस्तक ‘एमोङ द इलिफेन्ट्स’ मा पनि सोही किसिमका व्यवहारका बारेमा वर्णन गरेका छन् । त्यसै गरी, कारेन एमसीकोम्ब र उनका सहयोगी अध्येताहरुले पनि केन्याकै एम्बोसेली नेशनल पार्कमा हात्तीले मृत हात्तीको अवशेष नजिक आएर सानो आवृत्तिमा लगातार आवाज निकाल्ने गरेको घटनाबारे वर्णन गरेका छन् । अर्का अध्येता जर्ज विटेमायर उनका साथीहरुले केन्याका हात्तीको जनसंख्याबारे अध्ययन गर्ने दौरानमा हात्तीले ‘मृत्युसंस्कारजन्य’ व्यवहार देखाएको फेला पारेका थिए । त्यस दौरानमा उनीहरुले बथानका जीवित हात्तीहरुले मृत हात्तीलाई छुने, मुसार्ने, सुँघ्ने र मृतक हात्तीको अवशेष हड्डीहरुलाई सुँघ्ने र अरु जनावरका हड्डीहरुसँग दाँज्ने गरेको फेला पारेका थिए ।

ती अनुसन्धानहरुले देखाएका तथ्यहरुका आधारमा कतिपय अध्येताहरु हात्तीमा आफ्ना बथानका साथी–नातेदारहरुको मृत्यु हुँदा विशेष लगाव र संवेदना प्रकट हुने गरेको तथा त्यसलाई हात्तीको मृत्यु संस्कारको रुपमा लिन सकिने बताउँछन् । तर यो मान्यता सर्व स्वीकार्य भने भइसकेको छैन । त्यसका विपरीत मत राख्नेहरु अध्येताहरु चाहिँ त्यो मृत्यसंस्कारकै हदसम्मको भावनात्मक प्रदर्शन नभई फगत जिज्ञासाले उत्पन्न गराएको व्यवहार मात्रै हुन सक्छ, त्यसलाई सङ्गतीपूर्ण मृत्युसंस्कार नै चाहिँ भनिहाल्न मिल्दैन ।

त्यसो त हात्ती बुद्धिमान प्राणी हो भन्ने कुरामा कुनै विवाद छैन । हात्तीको व्यवहारका बारेमा थुप्रै वैज्ञानिक अध्ययनहरु लगातार भइरहेकै छन् । यस मेसोमा साँच्चै नै हात्तीले पनि मृत्यु संस्कार गर्छ भन्ने ठहरमा पुग्नुअघि यसबारेमा अझै ठोस र विस्तृत अध्ययनहरु हुनु जरुरी छ ।

Title Photo: animalbehaviorcorner

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।