भरिएको कप र भरिएको मस्तिष्क

जेन कथा

मेजी शासनकाल (१८६८–१९१२) को समयको कुरा हो । जापानमा एकजना प्रख्यात जेन मास्टर थिए । उनको नाम थियो नान–इन । उनको प्रसिद्धि जापानभरि फैलिएको थियो ।

एकजना प्रोफेसरलाई जेनसम्बन्धी उनको ज्ञान जाँच्न मन लाग्यो । उनी नान–इन भएको ठाउँमा गए ।

नान–इनले उनलाई हार्दिकताका साथ स्वागत गरे । प्रोफेसरलाई स्वागत गर्दै चिया पेश गरे ।

अचम्मको कुरा, चियाको कप भरिइसक्यो तर नान–इनले चिया खन्याउन छाडेनन् । कपबाट चिया बाहिर पोखिइरह्यो, नान–इनले भाँडोबाट कपमा चिया खन्याइरहे ।

त्यो देखेर प्रोफेसर तिनछक्क परे । उनले नान–इनलाई रोक्दै भने, मास्टर कप भरिइसक्यो । अब यसमा अरु थप चिया अटाउन सक्दैन । तपाईंले हाल्नुभएको सबै चिया पोखिएर खेर गइरहेको छ ।’

मन्द मुस्कुराउँदै नान–इनले ती प्रोफेसरलाई भने, ‘ठीक भन्नुभयो । जसरी यो कप भरिएको छ र त्यसमा थप चिया अटाउन सक्दैन, त्यसै गरी तपाईंको मस्तिष्क पनि पहिल्यै जेन दर्शनसम्बन्धी आफ्नै मान्यता र विचारहरुले भरिएका छन् । तपाईंले ती पूर्व अवधारणाहरुलाई नहटासम्म म कसरी तपाईंलाई जेनबारे बुझाउन सकुँला र ?’

कस्तो सामान्य तर शक्तिशाली उदाहरण ! जेन मास्टर नान–इनको कुरा सुनेर ती प्रोफेसर लज्जित बने । उनले माफी मागे ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।