व्याक्टेरियाको खानी नाइटो !

नाइटो – हाम्रो दैनिक जीवन प्रक्रियामा नाइटोको खासै भूमिका हुँदैन ! सामान्यतः हामीलाई यस्तो लाग्न सक्छ । वास्तवमा, हामी गर्भावस्थामा हुँदा आमाको सालबाट प्राप्त हुने जीवनदायी पोषणहरु भू्रणले यही नाइटोको बाटो हुँदै नाल (umbilical cord) बाट प्राप्त गरिरहेको हुन्छ । त्यसले भ्रूणमा पैदा भएका नचाहिने तत्त्वहरु हटाउने काम पनि त्यही बाटोबाटै भइरहेको हुन्छ ।  बच्चाको जन्म भएपछि चाहिँ नाइटोको त्यो भूमिका पूरा हुन्छ । शरीरबाट नाल काटिइन्छ र विस्तारै त्यो भाग सुकेर नाइटोको प्वाल बन्द हुन्छ । अब हाम्रो शरीरमा नाइटो खासै  उपयोगी  भूमिका हुँदैन । त्यो शरीरको एउटा सामान्य अङ्ग बन्न पुग्छ । कतिपय स्थानमा भने नाइटोलाई स्त्री जातिको सौन्दर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । कतिपयले चाहिँ आकर्षक देखिनका लागि त्यहाँ छेडेर मुन्द्री, गहनाहरु पनि लगाउने गर्छन् । विपरीत लिङ्गीहरुका लागि त्यो यौन आकर्षणको एउटा क्षेत्र पनि बन्न सक्छ ।

गर्भमा छँदा अत्यन्तै अत्यावश्यक तर जन्मपछि खासै उपयोग नहुने हाम्रो शरीरको एउटा अङ्ग नाइटो वास्तवमा व्याक्टेरियाको खानी नै हो । पछिल्लो अध्ययनले देखाएअनुसार, मानिसको नाइटोमा १४०० थरिका विभिन्न खाले व्याक्टेरियाहरु हुने गर्छन् । अलि अलि भिजेको, न्यानो र व्याक्टेरिया बढ्नु हुर्कनका लागि अनुकूल वातावरण हुने मानिसको नाइटो, जसलाई बेली बटन पनि भन्ने गरिन्छ, विभिन्न खालका व्याक्टेरियाहरुको घर नै हो जहाँ तिनीहरु मज्जाले हुर्कने गर्छन् ।  फेरि ती व्याक्टेरियाहरु पनि व्यक्तिपिच्छे फरक फरक खालका हुने गर्छन् । तीमध्ये केही व्याक्टेरियाहरु अल्पकालीन समय मात्रै देखापर्ने खालका हुने गर्छन् भने केही चाहिँ सधैं नाइटोमा रहिरहने खालका पनि हुने गर्छन् । नाइटोमा पाइने व्याक्टेरियाका विविधिताहरु व्यक्तिको स्वास्थ्यसम्बन्धी आनीबानी, उसको आनुवंशिकी र उसले जीवन बिताइरहेको वातावरणमा पनि निर्भर गर्दछ ।

व्याक्टेरिया भन्नेबित्तिकै हामीलाई भय वा डर पनि लाग्न सक्छ । किनभने सामान्यतः हामीलाई के लाग्छ भने व्याक्टेरियाले विभिन्न खालका घातक रोगहरु लगाउने, शरीरमा घाउखटिराहरु उत्पन्न गराउने गर्छ । तर वास्तवमा, नाइटोमा पाइने सबै व्याक्टेरियाहरु हानिकारक हुँदैनन् । तीमध्ये अधिकांश त शरीरलाई कुनै हानिनोक्सानी पुर्याउने खालका हुँदैनन् । बरु तिनले हानिकारक व्याक्टेरियाहरुबाट हाम्रो प्रतिरक्षा गर्ने काममा भने सहयोग गरिरहेका हुन्छन् । तीमध्ये कतिपयले हाम्रो छालालाई स्वस्थ राख्न समेत सहयोग गरिरहेका हुन्छन् । त्यसबाहेक, नाइटोमा पाइने कतिपय व्याक्टेरियाहरुले मानिसलाई हानी गर्ने खालका व्याक्टेरियाहरुलाई हुर्कनबाट रोक्ने खालका पनि हुन्छन् । तर यसको अर्थ यो होइन कि नाइटोमा पाइने व्याक्टेरियाप्रति हामी उदासीन बन्नुपर्छ । नाइटोमा कुनै पनि किसिमको संक्रमणका लक्षण देखापर्यो वा त्यहाँ वरिपरिका छालाहरु चिलाउन थाल्यो भने हामीले तुरुन्तै जँचाइहाल्नुपर्छ ।

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।