दुई तारापुञ्ज ठोक्किँदै ! मिल्कीमेडा बन्ने !
हाम्रो पृथ्वीको घर हो सौर्यमण्डल र सौर्यमण्डलको पनि घर हो – आकाशगंगा तारापुञ्ज । यो आकाशगंगाको नजिकको छिमेकी तारापुञ्जको नाम हो – एन्ड्रोमेडा । अहिले झण्डै २५ लाख प्रकाशवर्षको दूरीमा रहेका यी दुई तारापुञ्जहरु सुदुर भविष्यमा एकापसमा ठोक्किने छन।
यी दुई तारापुञ्जहरुको ठोक्काइले भयानक विष्फोट हुनेछ । त्यो विस्फोटले दुबै तारापुञ्जको एकापसमा विलय हुन्छ । त्यसबेला ती दुई तारापुञ्ज अहिलेको अवस्थामा हुने छैनन किनभने ती भित्र विभिन्न खगोलीय पिण्ड पनि ठक्करले गर्दा स्वरुप आफ्नो स्वरुप एवम अस्तित्व गुमाउने छन्। हुन त यी दुबै विशालकाय पिण्ड ठोक्किने त्यो घटना घटित हुनुभन्दा पहिला नै दुबैमा रहेका धेरै ग्रह - नक्षत्र - ताराहरुको अस्तित्व समाप्त भइसक्ने छ।
नआत्तिनुस् । यो अहिले र तुरुन्तै भइहाल्ने घटना होइन। यी दुई तारापुञ्ज झण्डै ४ अरब वर्षपछि मात्रै ठोक्किनेछन् ।
विज्ञानमा रुचि राख्ने सबैलाई थाहा भएकै कुरा हो - यस विशाल ब्रह्माण्डमा केही पनि स्थिर छैन। पृथ्वी निवासी हामी होमो सेपियन्स ख्वै के के हो को तलाशमा घूमे को घूमे जस्तै पृथ्वी - सूर्य पनि फनफनी घूमने गर्छन्। यसै तवरले विशालकाय तारापुञ्जहरु पनि ब्रम्हाण्डमा तीव्र गतिमा हुइँकिइरहेका हुन्छन् । वैज्ञानिक भन्छन् अहिले आकाशगंगा र एन्ड्रोमेडा झण्डै ११० किलोमिटर प्रति सेकेण्डको गतिले एक अर्काको नजिक आउँदै गइरहेका छन्। अर्को वैज्ञानिक सत्य के पनि हो भने आकाशगंगा र एन्ड्रोमेडाको आकारमा पनि निरन्तर वृद्धि भइरहेको छ । यी दुबैले आफू नजिक रहेका अन्य ससाना तारापुन्जलाई आफूमा समाहित गर्दै गइरहेका छन् । उदाहरणका लागि आकाशगंगाले म्याजेलानिक क्लाउडलाई आफूमा समाहित गर्दै गइरहेको छ ।
दुबै ग्यालेक्सी ठोक्किने उक्त खगोलीय घटना हुने बेलामा हाम्रो पृथ्वीबाट जीवनको अस्तित्व मेटिइसकेको हुन्छ । त्यति बेलासम्म हाम्रो सूर्यको आकार र तापक्रम बढेर अहिलेको भन्दा निक्कै ठूलो भइसकेको हुनेछ। दैत्याकार बनेको सूर्यले पृथ्वी लगायत अन्य ग्रहहरुलाई आफुमा समाहित गरिसकेको हुनेछ ।
आकाशगंगा र एन्ड्रोमेडा
अनन्त ब्रम्हाण्डको एउटा सानो हिस्सा हो हाम्रो आकाशगंगा । यसलाई मिल्कीवे भनेर चिनिन्छ । यही मिल्कीवे भित्र हाम्रो सौर्यमण्डल अवस्थित छ । थाहा भएकै कुरा हो हाम्रो सौर्यमण्डलको माउतारा सूर्य एउटा औसत खालको तारा हो । १ लाख देखि डेढ लाख प्रकाशवर्ष सम्म फैलावट भएको आकाशगंगामा सूर्य जस्ता तथा यीभन्दा साना, मझौला र ठूला खालका ताराहरु गन्नै नसकिने संख्यामा विद्यमान छन् । वैज्ञानिक भन्छन् मिल्कीवे मा १ खरब देखि ४ खरब तारा हुन सक्छन् ।
यसै गरी हाम्रो आकाशगंगाको सबैभन्दा नजिकको अर्को आकाशगंगाको एन्ड्रोमेडा हाम्रो मिल्कीवेभन्दा पनि ठूलो छ। यसको फैलावट २ लाख २० हजार प्रकाशवर्षसम्म रहेको अनुमान गरिन्छ । पृथ्वीबाट २५ लाख प्रकाशवर्ष टाढा रहेको यस ग्यालेक्सीमा १० खरव जति ताराहरु रहेको अनुमान गरिन्छ । यति भनेपछि अब त्यसमा ग्रह, उपग्रह लगायत अन्य खगोलीय पिण्डहरु कति छ होलान् त भनेर हाम्रो अनुमान बाहिरको कुरा हुन जान्छ ।
सबै तारापुञ्जहरुमा तारा, ग्रह, उपग्रह र अन्य खगोलीय पिण्डहरुका अतिरिक्त ठूलो मात्रामा धूलो र ग्याँसहरु पनि हुने गर्छन् । ती सबै गुरुत्वाकर्षण बलका कारण एकापसमा बाँधिएर रहेका हुन्छन् ।
यी दुई तारापुञ्जहरु हामीले जान्दै र सुन्दै आएका आकाशगंगा हुन् । अहिलेसम्मको ज्ञात ब्रम्हाण्डमा तारापुञ्जको अनुमानित संख्या २ खरब (2×1011) रहेको अनुमान छ । यस भन्दा पनि रोचक कुरा चाहिँ के हो भने विज्ञानको मान्यताअनुसार अहिलेसम्म हामीलाई ब्रम्हाण्डको करिब ५ प्रतिशत भागबारे मात्रै थाहा छ । बाँकी ९५ प्रतिशत बारे थाहा पाउनै बाँकी छ ।
त्यसो त विज्ञानको हालसम्मको स्थापित मान्यताअनुसार ब्रम्हाण्ड आफैं पनि निरन्तर फैलिइरहेको छ ।यस क्रममा ब्रम्हाण्डमा विद्यमान डार्क म्याटर (कालो पदार्थ) को गुरुत्वाकर्षणीय खिचाइका कारण तारापुञ्जहरु एकापसमा ठोक्किइने, बिलाउने र नयाँ तारापुञ्जमा परिणत हुन्छ भनेर मानिन्छ । हाम्रो आकाशगंगा र एंड्रोमेडा को ठक्कर पछि बन्ने नयाँ आकाशगंगा को नामकरण भइसकेको छ। ठक्कर भएपछि कोलाइड भएर बनेको नयाँ संरचनालाई मिल्कीमेडा भनिसकेका छन् अहिलेका वैज्ञानिकले।
हाम्रो आकाशगंगा आफैं पनि प्रति सेकेण्ड ६०० किलोमिटरको गतिले घुम्नुका साथै यसको आकारमा ५०० मीटर प्रति सेकेण्डले वृद्धि भइरहेको छ।
Photo: insider
२००० वर्ष पुरानो बीउबाट उमारिएका खजुरका रूखहरू
गुलियो खाँदा किन तीर्खा लाग्छ ?
तारापुञ्जहरुलाई आफूतिर तानिरहेको रहस्यमय ‘द ग्रेट अट्र्याक्टर’
तेस्रो अन्तरतारकीय आगन्तुक – 3I/ATLAS
आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
प्रतिक्रिया