यस्ता छन् अदुवा खानुका फाइदाहरु

अदुवा नचिन्ने मानिस संसारमै शायदै होला । हामी नेपालीहरुको भान्छाघरमा त सजिलै उपलब्ध हुने, अझ भनौं नभई नहुने मसलामध्येको एक हो अदुवा । अदुवाको अभावमा हाम्रो भान्छाघरमा पाक्ने परिकारहरु शायदै स्वादिलो होलान् ।

त्यसो त अदुवा खानेकुरा स्वादिलो बनाउने जरुरी मसला मात्रै हैन, औषधीको भण्डार पनि हो ।

इतिहासलाई फर्केर हेर्दा आजभन्दा करिब ४००० वर्षअगाडिदेखि नै मानिसले अदुवाको प्रयोग गर्दै आइरहको पाइन्छ । खासगरी, दक्षिणपूर्वी एशियामा उत्पत्ति थलोमा मानिएको अदुवा चीनमा २००० वर्षपहिलेदेखि नै औषधीको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ । आजभोलि त अदुवा संसारभरि नै उत्पादन हुने गर्छ । यसो हुनुको कारण चाहिँ यसको मसलामा उपयोग त हुँदै हो, त्यसबाहेक यसका औषधीय गुणहरुबारे मानिसले थाहा पाएर पनि हो ।

अदुवालाई विभिन्न रुपमा प्रयोग गर्ने गरिन्छ । यसलाई काँचै पिनेर लेदोको रुपमा, सुकाएर पिनी धुलोको रुपमा तथा प्रशोधन गरेर तेल निकालेर पनि अदुवालाई प्रयोग गर्ने गरिन्छ । यो चियादेखि खानेकुराहरु अनि आयुर्वेदीय–जडीबुटी औषधीहरुमा व्यापक मात्रामा प्रयोग हुने गर्छ ।

अदुवाले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । अदुवामा घाँटी दुखेको वा स्वर बसेको, रुघाखोकी लागेको, मांसपेशीहरु दुखेको समस्यामा पनि अदुवाको सेवनले राहत पुग्छ । त्यसबाहेक, यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राखेर शरीरको स्वास्थ्यलाई ठीक अवस्थामा राख्न समेत काम गरिरहेको हुन्छ ।

अदुवाका फाइदाहरु

भनिबस्नै परेन– अदुवाले खानेकुरा स्वादिलो बनाइदिन्छ । त्यसबाहेक यसको औषधीय गुणहरु पनि कम छैन ।

अदुवामा जिन्जेरोल (gingerol) र सोगावोल (shogaol) जस्ता बायोएक्टिभ तत्वहरु हुने गर्छन् । यी तत्वहरुमा डाहा कम गर्ने तथा एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । वाकवाकी लाग्ने समस्यामा त यो अत्यन्तै प्रभावकारी हुने गर्छ । खासगरी, बिहानको समय लाग्ने वाकवाकी, यात्रा गर्दा हुने वाकवाकी तथा अपरेशन गरिसकेपछि वा केमेथेरापी गरेपछि लाग्ने वाकवाकीहरुको रोकथाममा यो अत्यन्तै उपयोगी हुने गर्छ । त्यसैगरी, अदुवाले महिनावारीको समयमा हुने पेट दुख्ने तथा मासु बाउँडिने समसया अनि वाथरोगका कारण मांसपेशीहरु कडा हुने समस्यामा पनि राहत मिल्छ ।

खाना राम्ररी पचाउन, हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतलाई सही ढंगले काम गर्न समेत अदुवाले सहयोग गर्छ ।

अदुवाले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । अदुवामा घाँटी दुखेको वा स्वर बसेको, रुघाखोकी लागेको, मांसपेशीहरु दुखेको समस्यामा पनि अदुवाको सेवनले राहत पुग्छ । त्यसबाहेक, यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राखेर शरीरको स्वास्थ्यलाई ठीक अवस्थामा राख्न समेत काम गरिरहेको हुन्छ । अदुवाले मस्तिष्कको कार्यक्षमतालाई सही ढंगले सञ्चालित हुन तथा स्मरण शक्तिलाई दुरुस्त राख्न सहयोग गर्छ । कतिपय विज्ञहरुको भनाइमा त यसले यौन क्षमतालाई सही राख्न समेत भूमिका निर्वाह गर्ने गर्छ । यसबारेमा पनि विभिन्न अध्ययनहरु भइरहेका छन् ।

कति खाने अदुवा ?

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान नै छ । त्यसैले कुनै पनि चीज फाइदा गर्छ भन्दैमा जथाभावी धेरै खानु पनि हुँदैन । सामान्यतः एउटा स्वस्थ मानिसले दिनको ४–५ ग्राम अदुवा खानु ठीक मानिन्छ भने गर्भवती महिलाले चाहिँ १ ग्रामसम्म खानु ठीक हुन्छ । त्यसैगरी, २ वर्षभन्दा मुनिका बच्चालाई अदुवा नखुवाउनु नै जाति मानिन्छ । धेरै अदुवा खायो भने वाकवाक लाग्ने, छाती पोलेको जस्तो हुने र कोहीकोहीलाई त पखालासमेत लाग्ने गर्छ । त्यसैगरी, पाइल्सको समस्या हुनेहरुलाई पनि अदुवाले फाइदाभन्दा बेफाइदा गर्ने गर्छ । त्यसैले त्यस्ता रोगीहरुलाई अदुवा नखान नै सल्लाह दिने गरिन्छ ।

अदुवाले रगत पातलो बनाउने काम पनि गर्छ । त्यसैले रक्तस्राब हुनेहरुलाई पनि अदुवाले फाइदा गर्दैन । त्यस्ता समस्या हुनेहरुले अदुवा नखाएकै जाति । त्यसबाहेक, लामो समयदेखि औषधी सेवन गर्दै आइरहेका दीर्घरोगीहरुले पनि अदुवा खानुपूर्व आफ्ना चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ ।

स्रोत: युएसएटुडे

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।