परापूर्वकालमा गाँजर तरकारी हैन औषधीको रुपमा फलाइन्थ्यो !

गाजर मन नपराउने कमै होलान् । पकाएर वा काँच्चै पनि खान मिल्ने यो तरकारी वास्तवमा तरकारी मात्रै होइन । यो त मानव शरीरका लागि अत्यावश्यक विभिन्न पोषकतत्वहरुको खानी पनि हो । यसमा धेरैथरि भिटामीन र खनिजहरु पाइन्छ । गाँजरमा विशेष गरेर वायोटिन, पोटासियम, विटा क्यारोटिन, भिटामीन के१ ९० र भिटामीन बी६ पाइन्छ । यसमा प्रशस्त मात्रामा पाइने बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामीन एमा रुपान्तरण गरिदिन्छ ।

अहिले सहज र सर्वसुलभ गाँजर पहिले पहिले खाद्यपदार्थको रुपमा भन्दा पनि औषधीको रुपमा फलाउने गरिन्थ्यो । सबैभन्दा पहिले इशापूर्व २००० तिर पर्सिया (हालको इरान) मा गाँजर फलाउन थालिएको मानिन्छ । त्यसबेला गाँजरको फलभन्दा पनि पात र बीउहरु महत्वपूर्ण मानिन्थ्यो । तिनको प्रयोग रतन्धो, कमजोर दृष्टि तथा छालाको समस्याहरुको उपचारमा हुने गथ्र्यो । त्यसबेला गाँजरको फल पनि उपयोग औषधीकै रुपमा हुन्थ्यो तर तिनको प्रयोग पात वा बीउ जस्तो व्यापक मात्रामा भने हुँदैनथियो । पर्सियाबाहेक मध्यपूर्व तथा मध्य एशियाका देशहरुमा पनि गाँजर फलाइन्थ्यो ।

 सामान्यतः हामीले गाँजर भन्नेबित्तिकै सुन्तले रङ सम्झन्छौं । तर गाँजर सुन्तले रङका मात्रै हुँदैन, त्यो त वैजनी, रातो, सेतो र पहेलो पनि हुने गर्छ । तर सबैभन्दा लोकप्रिय चाहिँ सुन्तले रङको गाँजर नै छ । सुन्तले रङको गाँजरलाई संसारभरि लोकप्रिय बनाउने श्रेय चाहिँ डचहरुलाई जान्छ । उनीहरुले सत्रौं शताब्दीतिर गाँजरका वीउलाई परिमार्जन गरे र सुन्तेले रङका गाँजर फलाउन थाले । यसो गर्नुको एउटा कारण चाहिँ सुन्तले रङ्ग डच शाही परिवारसँग जोडिएको रङ थियो । त्यसले गर्दा सुन्तले रङको गाँजर खेतीले धेरै सफलता पायो । हुँदाहुँदा त त्यो सुन्तले रङको गाँजरले नै सबैभन्दा बढी संसारभरि लोकप्रियता कमायो ।

आजभोलि विज्ञानले पनि प्रमाणित गरिसकेको छ– गाँजरको सेवनका फाइदाहरु । यो पोषणको हिसाबले उत्तम मानिन्छ । गाँजरमा प्रशस्त मात्रामा पाइने बिटाक्यारोटिनलाई शरीरले भिटामीन एमा परिवर्तित गरिदिन्छ । सबैलाई थाहा भएकै कुरा हो– राम्रो दृष्टि, छालाको स्वास्थ्य र शरीरको रोग प्रतिरोधी क्षमताले राम्रो काम गर्नको लागि भिटामीन एले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । प्रशस्त मात्रामा फाइबर पाइने हुनाले यो हाम्रो पाचन प्रणालीको लागि पनि राम्रो मानिन्छ भने यसमा पाइने पोटासियमका कारण मुटुका लागि पनि राम्रो खानेकुरामा पर्छ गाँजर । यसमा पाइने अन्य भिटामीनहरुका पनि आफ्नै फाइदा छँदैछ ।

स्रोत: हेल्थलाइन, कन्ट्रीकुकिङ

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।