धार्मिक नृशंशताविरुद्ध विज्ञानको लडाइको कारुणिक कथा अगोरा

रोमन साम्राज्यको इसाइकरणलाई फगत धार्मिक झगडाहरु र अलगअलग घटनाहरुको रुपमा मात्र हेर्न नहुने कुरा पनि सिकाउँछ ।

धर्म र विज्ञानको लडाइँमा थुप्रै चिन्तक, वैज्ञानिक तथा दार्शनिकहरुले बलिदान दिएका छन् । समकालीन समयका धार्मिक मान्यता र विश्वासका विरुद्ध वैज्ञानिक धारणा अघि सार्दा तथा तिनको पक्षपोषण गर्दा थुपै्र असल मस्तिष्कहरुको निर्मम हत्या भएको छ । विज्ञानको पक्षपोषण गर्दा धर्मान्धहरुले निर्मम हत्या गरिदिएका त्यस्तै एक असल मस्तिष्कको नाम हो– हिपेशिया । तिनै हिपेशियाको जीवनचरित्रलाई देखाउने तथा धर्मान्धहरुले कसरी विज्ञानको गला घोट्ने कोशिश गरेका थिए भन्ने निर्मम सत्यतथ्यलाई दर्शाउने फिल्मको नाम हो– अगोरा ।

फिल्मको शीर्षक प्राचीन युनानमा सार्वजनिक सभास्थलको नाममा आधारित छ ।

अगोरा प्राचीन मिश्रमा विज्ञान र धर्मान्धहरुको अन्धआस्थाका बीच संघर्षको कहानी हो । यस कहानीको केन्द्रमा छिन् एक महिला । उनको नाम हो– हिपेशिया । उनी वैज्ञानिक, गणितज्ञ, दार्शनिक, खगोलशास्त्री थिइन् । उनी एक असल शिक्षक थिइन् । नारीलाई खासै महत्व नदिइने त्यस कालखण्डमा पनि उनी मिश्रमा सम्मानित थिइन् ।

अगोरा चौथो सताब्दीको अन्त्यतिर पतनशील रोमन साम्राज्यको अलेक्जेण्ड्रिया अर्थात् सिकन्दरियामा बस्ने हिपेशियाको निर्भिकता, ज्ञानविज्ञान र तर्कशीलताप्रति प्रेरणादायी प्रतिबद्धताको कहानी हो । त्यसबेला मिश्रमा सामाजिक–राजनीतिक उथलपुथल चलिरहेको थियो । त्यस्तो विषम परिस्थितिमा पनि हिपेशिया आफ्नो वैज्ञानिक ज्ञानलाई बचाउने कोशिसमा अहोरात्र लागेकी थिइन् । साथसाथै, उनी सूर्य, चन्द्र र अन्य ग्रहहरुको गतिबारे आफ्नो खोजअनुसन्धानका कामलाई जारी राखेकी थिइन् । त्यसबेलाको प्रचलित मान्यता पृथ्वीकेन्द्रीत सिद्धान्त थियो । बाइबलले पृथ्वी केन्द्रमा रहेको र सूर्यलगायत अन्य सबै खगोलीय पिण्डहरुले पृथ्वीलाई परिक्रमा गर्छ भन्ने अन्धआस्था अकाट्य मान्यताको रुपमा स्थापित थियो । त्यसका विपरीत जसले धारणा राख्थ्यो, तिनलाई शैतान, बोक्सी भनेर जिउँदै जलाउने वा विभत्स ढंगले हत्या गर्ने आम प्रचलन थियो । त्यो बेलामा पनि हिपेशियाको मत पृथ्वी केन्द्रीत सिद्धान्तको विरुद्धमा थियो । उनले सूर्यकेन्द्रीत ब्रम्हाण्डको सिद्धान्तका मान्यताबारे खोज–अनुसन्धान गरिरहेका थिए । उनको मान्यता थियो– पृथ्वीले सूर्यलाई केन्द्र बनाएर दीर्घवृत्ताकार कक्षमा परिक्रमा गर्ने गर्छ । 

हिपेशियाको यो मान्यता तत्कालीन धार्मिक मान्यतामाथि एटमबमभन्दा पनि ठूलो प्रहार थियो । उनको यो मान्यता तत्कालीन धर्मान्धहरुको सत्ताविरुद्ध भयानक चुनौती थियो । फलतः उनी धर्माधिकारीहरुको कोपभाजनको शिकार बने । उनीमाथि थरिथरिका प्रतिबन्धहरु थोपरिए । उनले पढाउने गरेकी विद्यालयबाट उनलाई हटाइयो । उनलाई बोक्सी घोषित गरियो । उनका विरुद्ध अन्धआस्थाको दलदलमा चुर्लुम्म डुबेका धर्मान्धहरुको उन्मादी भीड खनिन्छ...। उनलाई भीडले कुटेर अनि अन्त्यमा चर्चमा लगी आगो लगाएर हत्या गरिन्छ ।

०००

फिल्ममा नायिका हिपेशियाको माध्यमबाट दुई फरक संघर्षलाई एउटै मालामा उनेर देखाइएको छ । एकातिर धार्मिक अन्धआस्थामा चुर्लुम्मै डुबेको सत्तातन्त्र र वैज्ञानिक मान्यताबीचको भीषण संघर्ष छ भने अर्कोतिर पितृसत्ताका विरुद्ध स्त्रीको संघर्ष । धार्मिक सत्तालाई उनीहरुले मान्दै आएको र विश्वास गर्दै आइरहेको मान्यतालाई चुनौती दिने गरी एउटा वैज्ञानिकले प्रश्न उठाएको कुरा स्वीकार्य छैन । त्यसमाथि थप, धर्मान्धहरुलाई एउटा स्त्रीले विज्ञानलाई अङ्गीकार गरेर धार्मिक मान्यतालाई चुनौती दिएको कुरा त झनै पचेको छैन । पतनोन्मुख प्राचीन रोमन समाजमा स्त्री जातिका हिपेशियाले सार्वजनिक रुपमा पढाउनु, दर्शनका चर्चाहरुमा भाग लिनु र वैज्ञानिक खोज अनुसन्धानहरुमा संलग्न हुनु आफैंमा चानचुने कुरा थिएन, त्यो त तत्कालीन पितृसत्ता र धार्मिक सत्तामाथि नै ठूलो चुनौती थियो । तथापि उनले त्यो मौका आफ्ना पिता म्युजियममा डाइरेक्टर हुनुको नाताले पाएकी थिइन्, जुनकुरा पितृसत्ता र धर्मका ठेकेदारहरुको मुटुमा किला ठोकेजसरी दुखिरहेको थियो ।

अगोरामा पनतशील रोमन साम्राज्यमा दासहरुमाथि गरिने बर्बर अत्याचारलाई राम्ररी दर्शाइएको छ । त्यो प्रतिकूलस्थितिमा पनि हिपेशियामा अन्तरनिहित मानवीयतनालाई गज्जबसँग देखाइएको छ ।

अगोराले हामीलाई प्राचीन ग्रीको–रोमनका बहुदेववादको पतनका परिदृश्यलाई स्पष्टसँग देखाइदिन्छ । त्यसका साथसाथै, रोमन साम्राज्यको इसाइकरणलाई फगत धार्मिक झगडाहरु र अलगअलग घटनाहरुको रुपमा मात्र हेर्न नहुने कुरा पनि सिकाउँछ । बरु त्यसलाई पुरानो सामाजिक व्यवस्थाको पनत र नयाँ खालको सामाजिक व्यवस्थाको उदय हुँदै गरेको परिघटनाको रुपहा हेरिनुपर्ने खाँचोलाई देखाइदिन्छ । त्यसैगरी, ती घटनाहरुलाई तत्कालीन समाजमा घटित भइरहेका दास विद्रोहसँग पनि जोडर हेर्नुपर्ने सन्देश अगोराले दिन्छ । अगोराले दिने महत्वपूर्ण सन्देश के पनि हो भने धर्मको बुइ चढेर आएका शासकहरु जहिले पनि मेहनतकश श्रमजीवि जनताहरुका लागि पुराना शासकहरु जस्तै क्रूर र दमनकारी नै हुने गर्छन् ।

सन् २००९ मा आएको चलचित्र अगोरा अंग्रेजी भाषामा निर्मित स्पेनिश ऐतिहासिक फिल्म हो । यसको निर्देशन अलेजान्ड्रो अमेनाबारले गरेका हुन् । यस फिल्मको पटकथा अमेनाबार र माटेओ गिलले लेखेका हुन् । चलचित्रमा हिपेशियाको भूमिका चर्चित बेलायती नायिका एवं मोडेल राचेल हन्ना वेइजले निर्वाह गरेकी छिन् । यो फिल्म माल्टाद्वीपमा चार महिना लगाएर छायाङ्कन गरिएको थियो । 

–लखनउ सिनेफ्लिक्स समेतको सहयोगमा, Photo: fictionmachine

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।