सर्वाधिक खोजी गरिएका विद्रोही कि आदिवासी नायक?

माओवादी नेता माड़वी हिडमाको अन्तिम संस्कारमा उर्लिए जनसागर

माड़वी हिडमा प्रहरीका कागजातहरूमा सबैभन्दा खोजीमा पर्ने नक्सली विद्रोही थिए, तर आम मानिसहरूका लागि उनी आफ्नो जल–जंगल–जमीनका लागि हातहतियार उठाएका एउटा नायक थिए ! गाउँलेहरुले हिडमालाई मुठभेडमा होइन, हिरासतमा मारिएको आरोप लगाइरहेका छन्

नयाँ दिल्ली: गत १८ नोभेम्बरमा आन्ध्र प्रदेशको अल्लूरी सीतारामराजु जिल्लामा प्रहरीले कथित मुठभेडमा प्रतिबन्धित भाकपा (माओवादी) का नेता र सैन्य कमाण्डर माड़वी हिडमा, उनकी पत्नी मड़कम राजे सहित छ जना माओवादीहरूको हत्या गरेको छ । हिडमामाथि एक करोड र उनकी पत्नीमाथि ५० लाखको इनाम घोषित थियो।

उनीहरू सुकमा जिल्लाको पुवरती गाउँका बासिन्दा थिए। विभिन्न मिडिया खबरहरू अनुसार हिडमाको मृत्युको खबरले उनको गाउँ शोकमा डुबेको छ। उनकी आमाको र परिवारका सदस्यहरूको रुँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्।

खबरहरू अनुसार बिहीबार (२० नोभेम्बर) बिहान ९ बजे उनको गाउँमा हिडमा र राजेका शव ल्याइयो। हिडमाको हत्या प्रहरीका लागि ठूलो सफलता हो भने, उनको गाउँका लागि दुःखको विषय।

सबैभन्दा खोजी गरिएका नक्सलवादी विद्रोही कि आदिवासीहरूको नायक?

हिडमा प्रहरीका कागजातहरूमा सबैभन्दा खोजीमा पर्ने नक्सलवादी विद्रोही थिए, तर आम मानिसहरूका लागि उनी आफ्नो जल जंगल जमीनका लागि हातहतियार उठाएका एउटा नायक थिए ।

सोशल मिडियामा भाइरल भएको भिडियोमा हिडमाको घर भनिएको एउटा सानो झुपडीअगाडि हिडमाकी आमा माड़वी पोज्जे टाउको समातेर छात्ती पिटेर राइरहेकी छन्। उनका साथमा अन्य धेरै महिलाहरू बसेर रोइरहेकी छन्। पूरा गाउँ हिडमाको मृत्युको शोक मनाइरहेको छ। गाउँका महिलाहरू उनको शोकमा सामेल हुन उनका घरमा भेला भइरहेका छन्।

बस्तर जंक्शन यूट्यूब च्यानलका पत्रकारले गाउँका पुरुषहरूलाई जब कि तपाईंहरूको खबर के छ, खाना खानु भयो कि छैन? भनी सोध्दा उनीहरुले मार्मिक जवाफ दिए–पूरै गाउँ दुखी हुदा कसरी खाना खान सकिन्छ ? पत्रकारले थप प्रश्न सोध्छन्– तपाईंहरुल हिडमा दादाका लागि दुखी हुनुहुन्छ ? जवाफमा एक पुरुष भन्छन्– हामी केवल हिडमाका लागि मात्र दुखी छैनौं, उनका साथमा मारिएका अन्य मानिसहरूका लागि पनि दुखी छौं।

पत्रकारले ‘हिडमा जे भए पनि गाउँका लागि राम्रो नै थिए होलान् ?’ भनी सोध्दा  एक व्यक्तिले जवाफ दिन्छन्– उनी  हाम्रो गाउँका लागि मात्र होइन, पूरा बस्तर र देशकै लागि राम्रो मानिस थियो। उनी अगाडि भन्छ, ‘जब आन्ध्रबाट आएर (माओवादी) यहाँ मर्छन् भने के उनीहरू आफ्ना गाउँका लागि मात्र लडिरहेका हुन्छन्? त्यसैगरी यहाँ (बस्तर) का मानिसहरू त्यहाँ (आन्ध्र) गएर मरिरहेका छन्। यी सबै मानिस जनता लागि लडेर मरिरहेका छन्। कोही केवल आफ्नो घरका लागि त्यहाँ (माओवादी संगठनमा) जान्न।’

एक अन्य युवकले पत्रकारलाई ‘हिडमा माओवादी पार्टीमा सामेल भएपछि, अर्थात् दुई दशकभन्दा बढी समयमा केवल तीन वा चार पटक मात्र आफ्नो परिवारसँग भेटेको थियो। केवल एक पटक मात्र ऊ आफ्नै घर आएको थियो। वरिपरि त आउँथ्यो तर कहिल्यै गाउँमा आउँदैनथ्यो’ भनी बताए ।गाउँलेहरुले हिडमालाई मुठभेडमा होइन, बरु हिरासतमा लिएर मारिएको आरोप लगाएका छन् ।

त्यस भिडियोमा एक युवक सोध्छ, ‘आरजीमा रहेका हिडमासँग काम गर्नेहरू भन्छन् कि हिडमासँग ठूलो संख्यामा गुरिल्ला हुन्छन्, उनलाई मार्नु त्यति सजिलो छैन, ऊ जंगलमा युद्धकला माहिर छ, तब केवल छ जना मानिस कसरी मुठभेडमा मारिन्छन्?’

आदिवासी कार्यकर्ता सोनी सोरीको बुझाइमा इतिहास हिडमालाई एउटा विद्रोहीका रूपमा होइन, बरु एउटा त्यस्तो आवाजका रूपमा सम्झनेछ, जसले सरकारका अन्यायलाई चुनौती दिएको थियो।

सोनी सोरीले द न्यूज़ मिनटसँग कुरा गर्दै मुठभेड नक्कली भएको आरोप लगाइन् र हिडमाहरुको हत्या बस्तरमा राज्यको हिंसाको ठूलो उदाहरणका रूपमा हेर्नु पर्ने बताइन्।

सोनीका अनुसार हिडमाको हातहतियार उठाउने निर्णय जल, जंगल, जमीनको संघर्षसँग जोडिएको थियो। उनले आरोप लगाइन् कि वर्षौँदेखि यी स्रोत साधनहरूमा स्थानीय मानिसहरूको सहमति बिना सरकार र कर्पोरेटले कब्जा गरेको छ। बस्तरका अधिकांश आदिवासीहरूले हिडमालाई आफ्ना अधिकारका लागि लडिरहेको देखेका छन्।

यता, ह्यूमन राइट्स एक्टिभिस्ट डिग्री प्रसाद चौहानले सिक्योरिटी फोर्सले चाहेको भए उनीहरू हिडमा, उनकी पत्नी र अन्य माओवादीहरूलाई गिरफ्तार गरेर अदालतमा पेश गर्न सक्थे भनी बताए। उनका अनुसार ‘तर उनले त्यस्तो गरेनन्। जसरी हिडमालाई मारियो, त्यसैगरी प्रायः धेरै निर्दोष आदिवासीहरू पनि मारिन्छन्।’

उनले माओवादी आन्दोलन र यसको हिंसाको प्रयोगमाथि प्रश्न उठाउनु ठीक छ, तर सरकारका तरिकाहरूको पनि जाँच हुनुपर्छ भनी बताएका छन्। उनले भने, ‘एक संवैधानिक लोकतन्त्रमा जो कोही हिडमा र माओवादी आन्दोलनसँग असहमत हुन सक्छ, तर यहाँ सरकारका हिंसक ज्यादतीहरूमाथि प्रश्न उठाउनु आवश्यक छ।’

उनले अघि भने, ‘केन्द्र सरकारको मार्च २०२६ सम्म माओवादी समाप्त गर्ने डेडलाइन र धेरै माओवादी नेताहरूको सरेंडरपछि आन्दोलन कमजोर भएको भन्न सकिन्छ। तर आदिवासीहरूको अधिकारको प्रश्न, जमीन र प्राकृतिक स्रोत साधनमाथिको उनीहरूको स्वामित्वको हकको चर्चा अझै पनि यथावत छ।’

यसबीच, खबरहरू आइरहेका छन् कि हिडमाको शव गाउँमा पुग्दा ठूलो संख्यामा ग्रामीणहरू भेला भएका थिए। गाउँ वरपर ठूलो संख्यामा सुरक्षा बलहरू तैनाथ गरिएको थियो। वरपरको क्षेत्रमा मोबाइल नेटवर्क अस्थायी रूपमा बन्द गरिएको थियो। भाइरल भिडियोमा ठूलो संख्यामा महिलाहरू शवसँग लिप्टिएर रोइरहेको देखिन्थ्यो।

आदिवासी परम्परा अनुसार हिड्मा र उनकी पत्नीको अन्त्येष्टि गरियो। (फोटो सौजन्य: सामाजिक सञ्चार माध्यमको भिडियो स्क्रिनग्राब)

सुरक्षा बलहरूको घेराबन्दीबीच आदिवासी परम्परा अनुसार हिडमा र उनकी पत्नीको मंसिर ४ गते दिउँसो अन्तिम संस्कार गरियो। उनका अन्तिम यात्राका भाइरल भिडियोमा सयौँको संख्यामा मानिसहरू देखिँदै छन्।

टाइम्स अफ इण्डियाका अनुसार, शव गाउँमा पुग्नु अघि बस्तर रेन्जका आइजी पी. सुन्दरराजले भनेका थिए कि हिडमाको शवसँग ‘आधारभूत मानवीयता’का साथ व्यवहार गरिनेछ, तर त्यस्ता कुनै पनि प्रदर्शनलाई अनुमति दिइने छैन जसले एक वान्टेड विद्रोहीलाई शहीद बनाइदियोस्।

उनले भने, ‘हामी यसलाई बढाइचढाइ गरेर देखाउन चाहँदैनौँ। यो ‘शहीद’ समारोह जस्तो देखिनु हुँदैन। आदिवासी रीति रिवाजका लागि ठूलो सुविधाको आवश्यकता हुँदैन। यो एक समुदायको कार्यक्रम रहनेछ र आधारभूत सम्मान कायम राखिनेछ। जस्तै बस्तरका आदिवासीहरूले मृतकको शोक मनाउँछन्।’

हिडमा १९९४–९५ बीच माओवादी पार्टीमा सामेल भएका थिए। त्यो समयमा उनी करिब १७ वर्षका थिए, र सातौँ कक्षासम्म पढाइ गरेका थिए। २००७ मा दक्षिण बस्तरको उरपलमेट्टाको नजिक सिआरपिएफका २४ जवानलाई घेरेर मारिएकोघटनासँग हिडमाको नाम पहिलो पटक जोडियो। त्यसपछि दक्षिण बस्तर क्षेत्र (सुकमा जिल्ला) मा भएका धेरै आक्रमणहरूमा हिडमाको नाम अगाडि आयो। १० अप्रिल २०१० मा ताडिमेट्ला नजिक माओवादीहरूले घात लगाएर आक्रमण गरी ७६ जवानको हत्या गरेका थिए, जसलाई भारतको माओवादी आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो घटना मानिन्छ। यसलाई पनि हिडमाको बटालियनले कार्यान्वयन गरेको  बताइन्छ। सुरक्षा बलहरूको जानकारी अनुसार जम्मा २६ आक्रमणमा हिडमाको संलग्नता थियो।

हिडमा माओवादी पार्टीको सेन्ट्रल कमिटीका सबैभन्दा युवा सदस्य हुन् भनिन्छ। उनको उमेर करिब पचासको आसपास बताइन्छ। भर्खरै उनलाई दण्डकारण्य स्पेसियल जोनल कमिटी (डीके एसजेडसी) को सचिव बनाएको खबर बाहिर आएको थियो। दण्डकारण्यमा विगत ४५ वर्षदेखि जारी नक्सलवादी वा माओवादी आन्दोलनमा उनी त्यस पदमा पुग्ने पहिलो स्थानीय आदिवासी थिए ।

स्रोत: द वायर